ठेला चलाउदै क्याम्पसमा अंग्रेजी र राजनीतिशास्त्र पढिरहेका धादिङका राम तामाङको कथा ! (भिडियो सहित)
ठेला लिएर मजदुरीमा !
ठेलाबाट सामान उठाएर पसलतिर लैजाँदै !
बागबजारमा ट्युसन कक्षामा राम तामाङ !
आरआर क्याम्पसमा अध्ययन गरेर डेरामा फर्किंदै !
ठेला चलाउने ठिटोको देश हाँक्ने लक्ष्य !
राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको जागिर ठेलामै छ । बिहान साइकल लिएर क्याम्पस पुग्ने तामाङ, दिउँसो ठेला लिएर मजदुरीमा निस्किन्छन् । नयाँ पत्रिकाका सन्तोष भट्टराई र कृष्ण पौड्याल ले तामाङको दैनिकी पछ्याउँदै शब्द र तस्बिरमा उतारेका छन् :
वसन्तपुर नजिकै छ, राम तामाङको डेरा । बिहान कुखुराको भालेले डाँक नछोड्दै उनका आँखा खुल्छन् । किनभने उनी पुग्नुपर्छ, प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस । अहिले त क्याम्पस बन्द छ, तर उनले ट्युसन कक्षा लिएका छन् ।
साइकल उनको सदाबहार साथी । बिहानै बागबजारतिर हुइँकिन्छन् । क्याम्पसमा १० बजेसम्म बस्नुपथ्र्यो, ट्युसन भने ९ बजे नै सकिन्छ । पढाइको समय उनलाई अरू सोच्ने फुर्सद हुँदैन । अन्य विद्यार्थीजस्तो राम–रमाइलोमा समय बिताउने छुट उनलाई भाग्यले दिएको छैन । पढ्नका लागि छोटो समय छ, मजदुरीमा धेरै समय बिताउनुपर्छ । ‘मलाई ठूलो मान्छे बन्नु छैन, तर उदाहरणीय, असल, परिश्रमी र राष्ट्रसेवक जीवन जिउनु छ,’ उनी मुस्कानसहित बोले ।
राम्रोसँग पढेर असल मान्छे बन्ने एक थान सपना बोक्दै हरेक दिन तीव्र दौडाहामा सामेल छन्, तामाङ । स्नातक तह पहिलो वर्षका विद्यार्थी उनको अंग्रेजी र राजनीतिशास्त्र मुख्य विषय हो । दिउँसो ठेला छोड्नै मिल्दैन । छोड्यो कि जीवनयापनको सन्तुलन बिग्रिन्छ । त्यसैले, अध्ययनका लागि बिहान र रातिको समय छुट्याएका छन् । ‘म काठमाडौं जिन्दगी जिइरहेको छैन, मेरै जिन्दगीमा छु । दायाँबायाँ सोच्नेसम्म फुर्सद मिल्दैन । परीक्षा नजिकिँदै छ । अंग्रेजी विषय कसरी उत्तीर्ण गर्ने भन्ने चिन्ता छ,’ तामाङले भने ।
बिहानको खाना घरमै खाइवरी १० बजेतिर तामाङ ठेला लिएर निस्किन्छन् । छिनकै झरी र छिनकै टन्टलापुर भदौरे घाम पचाउँदै उनको श्रम सुरु हुन्छ । सामान उठाउनुपर्ने स्थानमा पुगेर ठेलामा सामानको उरुङ लगाउँछन्, अनि सकी–नसकी ठेल्दै गन्तव्यमा पुर्याउँछन् ।
काठमाडौँ आफैँमा कर्कस आवाज र कोचाकोचको महानगर पनि हो । ठेलामा बढी सामान ओसारिने असन, इन्द्रचोक, ज्याठा, नलसिङचोक निकै साँघुरा गल्ली भएका क्षेत्र हुन् । यिनै साँघुरा गल्लीतिर ठेलाको घन्टी किर्लिङ–किर्लिङ बजाउँदै भिड छिचोलेर मजदुरी गर्छन्, तामाङ ।
धादिङको खनियाँवासस्थित बट्थला उच्च माविबाट प्लस टुसम्मको अध्ययन पूरा गरेका तामाङ घरका कान्छो सन्तान रहेछन् । घरायसी आर्थिक अवस्था कमजोर भएका उनको जीवनको पाटो असामान्य छ ।
एसएलसीसम्मको अध्ययन सकाएपछि गाउँनजिकै दुई वर्ष ट्युसन पढाएका उनले २१ वर्षको उमेरमै बिहे गरे । तर, त्यो भागी विवाह भने थिएन । ०६९ को त्यो बिहेले उनको जिन्दगीमा ठूलै बोझ थपिदियो । पढ्ने रहरबीच पारिवारिक बोझले कलिलै उमेरमा जिम्मेवारी बढ्यो ।
तीन दाजु र तीन दिदीको पनि बिहे भइसकेको थियो । अब उनी पनि आफ्नै बन्दोबस्तीमा लाग्ने निर्णयमा पुगे । बिहे गरेको सात महिनापछि घर छाडेर हिँड्ने निर्णयमा पुगे, त्यो पनि एक्लै । ‘श्रीमतीलाई समेत थाहा नदिई म घरबाट भागेँ । कता जाने भन्ने कुनै योजनाविना नै निस्किएको थिएँ,’ तामाङले कहानी खोले, ‘बाटोमा सोच्दै हिँड्दा सुरुमा दिदीहरू भएको ठाउँ त्रिशूली जाने निर्णय गरेँ ।’
त्रिशूली आएपछि भने उनको अवस्थाबारे घरमा खबर पुग्यो । प्लस टु सकेको युवा संघर्षको यात्रामा त्रिशूलीमै ज्यामी कामतिर लागे । केही पैसा कमाए । अब, उनी आफ्नो जीवित सपनामा लम्किने प्रयास गरे । थप केही गरेर काठमाडौंमै बस्ने र पढ्ने योजना बनाउँदै त्रिशूलीबाट हिँडे ।
ससुरा काठमाडौंमा बस्थे । ठेला चलाउने पेसा थियो । तामाङले पनि ससुरासँग ठेला चलाउन सिके । अनि आफूले पनि चलाउन सुरु गरे । ‘ससुराबाको ठेला चलाएर केही पैसा कमाएँ । पछि त्यो ठेला आफैँले किनेँ,’ उनले सुनाए ।
राम तामाङका तीन सन्तान र श्रीमती छन्, अहिले । दुईवटी छोरीलाई बोर्डिङ स्कुलमा पढाएका छन् । एलकेजीमा पढ्छन् । सानी छोरी भर्खर–भर्खर जन्मिएकी हुन् । आफ्नो पढाइ, छोरीहरूको पढाइ र घर चलाउने सबै खर्च ठेलाको कमाइकै भरमा चलेको छ ।
‘ससुराको ठेला चलाएर जम्मा पारेको पैसाले अर्को रिक्सा किनेँ । करिब दुई वर्षजति दुःख गरेर ठेलारिक्सा कुदाएँ । त्यसपछि सजिलो खालको यो रिक्सा किनेको हो । अहिले काम भ्याई–नभ्याई छ । मासिक २५ देखि ३० हजार रुपैयाँ कमाइ हुन्छ,’ खुसी हुँदै तामाङले सुुनाए । यही कमाइमा उनले परिवारलाई राम्रैसँग पालेका छन् ।
असन, इन्द्रचोक क्षेत्रबाट सामान पुर्याउन उनी कालिमाटी, कलंकी, नयाँ बसपार्क र कोटेश्वरसम्म पनि पुग्छन् । ‘दिनभरको कामले थाकिन्छ, घर पुगेपछि छोरीहरू र श्रीमती देखेपछि धेरै थकान आफैँ हराउँछ,’ उनी भन्छन्, ‘परिवार सुख र दुःख बिसाउने चौतारी रहेछ ।’
राम्रो विषय लिएर पढिरहेका छन् । ठेला चलाउने पेसा छ । उदाहरणीय असल व्यक्ति बन्ने यात्रामा रोकिएका छैनन्, उनी । हरेक अवसरलाई टिप्दै पाइला लम्ब्याउने प्रयासमा छन् । उनले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा धादिङ फर्किएर खनियाँबास गाउँपालिका वडा नं ५ मा अध्यक्षको उम्मेदवारी दिए । ‘राजनीति गरेर राष्ट्रसेवा गर्ने मेरो चाहना छ । त्यसैले निर्वाचन कसरी जितिन्छ र कसरी हारिन्छ भन्ने बुझ्न पनि उम्मेद्वारी दिएँ । हार्नु अस्वाभाविक थिएन,’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै थपे, ‘म मोदीको जीवनबाट प्रभावित छु । भारतमा चिया बेच्ने गरिब प्रधानमन्त्री बन्न सफल भए भने म ठेला चलाउनेले राजनीतिक उचाइको अपेक्षा गर्नु किन सही नहुने ?’
ठेला चलाउनु निकै नै दुखिया काम हो । शारीरिक बल धेरै खर्चिनुपर्छ । तर, तामाङले सामान बोकेर हिँड्दा सडकमा धेरै थरीका मान्छेलाई भोगेका छन् । ‘यो देशमा कामको सम्मान छैन । ठेला कुदाउने भनेपछि हेयको दृष्टिले हेर्ने धेरै छन् । श्रमप्रतिको अपमानले कहिलेकाहीँ क्रोधित बनाउँछ,’ तामाङले अनुभव सुनाए, ‘तर, म आफैँ चित्त बुझाउँछु । कामलाई सानो–ठूलो देख्नेहरू नै गलत हुन् भन्दै आफ्नो यात्रामा लम्किरहन्छु ।’
हेर्नुहोस भिडियो
श्रोत: तामाङ भ्वाईस
No comments